एजेन्सी २० चैत ।। महाभारतमा युधिष्ठिरको भूमिका निभाएर लोकप्रियता हासिल गरेका अभिनेता रोहित भारद्वाजले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिए । निकै लामो समयदेखि रोहित भार्दवाज सानो पर्दाबाट टाढा भइरहेका थिए । वास्तवमा अभिनेताको नीजि जीवनमा केही गडबडी भएकोले उनको व्यावसायिक जीवनमा पनि यसको असर देखिएको उनले बताएका छन् ।

टुट्ने स्थितिमा पुगेको थियो विवाहः

रोहितले आफ्नो विवाह टुट्ने स्थितिमा भएको बताएका छन् । इटाइम्सलाई दिएको अन्तरवार्तामा अभिनेताले आफ्नो १६ वर्षको वैवाहिक सम्बन्ध टुट्नुको कारणबारे पनि कुरा गरेका छन् । उनका अनुसार उनी सन् २०१७ मा कामको सिलसिलामा इन्डोनेसिया पुगेर फर्किएपछि आफूहरुबीच थप झगडा हुन थालेको पनि बताए ।

उनले भने, ‘म पछिल्लो चार वर्षदेखि एक्लै बस्दै आएको छु । हाम्रो विवाहको सुरुवाती दिनदेखि नै हामीबीच कुरा मिल्दैनथ्यो तर पछि हामीबीच थप समस्या देखिन थाल्यो विशेषगरी जब म इन्डोनेशियाबाट फकिएँ । मैले श्रीमतीसँग धेरै कुरा मिलाउन खोजेँ तर आफ्नो विवाहलाई जोगाउन सकिनँ । हाम्रो सम्बन्धले भिन्नता र अनुकुलतासँग संघर्ष गर्यो । डिभोर्सको प्रक्रिया अघि बढिरहेको छ र यो दुई महिनाभित्र समाप्त हुने आशा गरेको छु ।

रोहितले सन् २०२१ मा अर्को ठूलो बज्रपात सहनुपरेको पनि बताए । उनले सन् २०२१ मा आफ्नी आमाको मृत्युबारे पनि कुरा गरे जसबाट उनी अहिलेसम्म पनि बाहिर निस्कन नसकेको बताएका छन् । यसबारे कुरा गर्दै उनले भने, ‘उनको हृदयघातका कारण निधन भयो र म यसबाट अझै पनि बाहिर निस्कन खोज्दैछु । म बुवासँग समय बिताउनका लागि मुम्बई र दिल्ली गरिरहेको छु ।

रोहित र उनकी पूर्व पत्नी पुनमा १० वर्षकी छोरीका आमाबुवा पनि हुन् । उनले पछिल्लो दुई वर्षदेखि आफूले छोरीलाई भेट्न नपाएको पनि बताए । उनले भने, ‘मैले मेरी छोरीलाई दुई वर्षदेखि देख्न पाएको छैन । आमाको निधन भयो, छोरी टाढा भइन् । म असाध्यै विक्षिप्त भएको थिएँ । एक्लो थिएँ ।

तर आफू अहिले परिवर्तन भइसकेको र आमाबुवाले गर्व गर्न सक्ने गरी केही राम्रो काम गर्न चाहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here