जनकपुरधाम ११ चैत ।। मधेश प्रदेशका राजधानी जनकपुरधामबाट एक ४ वर्षीया बालिका घरबाटै बेपत्ता भएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चोकका ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझदेखि घरबाटै हराएकी हुन् । घरमा खेल्दै गरेको अवस्थामा बालिका हराएपछि घरमा रुवाबासी चलेको छ ।
आफ्नै आँगनमा खेलिरहेकी बालिका बिहीबार साँझ ६ बजेदेखि हराएकी बालिकाको परिवारजनले जनाएका हुन् । बालिकालाई कसैले चोरी गरेर लगेको हुन सक्ने स्थानीयको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् । करिब डेढ महिनाअघि जनकपुरधाममा एक जना बच्चा चोरी भएको घटना सार्वजनिक भएको थियो ।