रौतहट ०३ चैत ।। रौतहट स्थित चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ । चन्द्रनिगाहपुर बाट घरतर्फ गइरहेको बा१७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन ।
ठक्कर लागि गम्भीर घाइतेभएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्स बाट भरतपुर जाने क्रममा रातिनै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिएका छन । ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्दे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन ।
मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानै देखि प्रदर्शन गरिरहेका छन ।
कुनै अप्रिय नहोस भनी सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहपुर बाट गौर जाने गाडीहरु लाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।