जनकपुरधाम ०५ फागुन ।। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुडकिलोको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्घोष अनुरुप पहिलो खुडकिलोको रुपमा प्रतिष्ठानलाई अघि बढाएको बताए ।

विषम परिस्थितिमा शुरु भएको प्रतिष्ठान एक वर्ष भित्रै ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन शुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको संचालन र विशिष्टिकृत सेवाको संचालन गर्नु स्वागत योग्य रहेको बताए । प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिसामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भई सकेको र विरगंजमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तीम चरणमा रहेको बताए । त्यसैगरि प्राविधिक शिक्षा सम्बन्धि विधेयक समेत संसदमा विचाराधिन रहेकोले एक महिना भित्रै पास हुने विश्वास व्यक्त गरे । उनले विधेयक पास भए लगतै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्ययापन सहज हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्राविधिक शिक्षा सम्बन्धि विधेयक ल्याउनु जरुरी थिएन, सिटिइभिटी प्रदेश मातहत हुनु पर्ने थियो । तर संघीय कुनीतिका प्रदेशमा प्राविधिक शिक्षा विधेयक ल्याउनु परेको हो ।

एक फरक प्रसंगमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले हाल संचालनमा रहेको स्थानबाट अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणीपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेशले शुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको बताए । उनले भने,‘प्रदेश भित्रका सार्वजनिक, गुठीका जग्गा संविधानतः प्रदेश मातहतको हो, यो जग्गा प्रतिष्ठानले नै पाउने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here