काठमाडौँ ५ माघ ।। कोरोना संक्रमण दर बढेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ। नेपाल सरकारको निर्णय अनुसार पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप बन्द गरिएको उनले बताए । २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

त्यस्तै गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई समेत रोक लगाइने भएको छ । माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ। मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको बताए ।

मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको उनले बताए । जनकपुरधामको जानकी मन्दिरले भने अहिले कुनै निर्णय गरेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here